सिद्धार्थ बैंकले ३ अर्ब ५० करोडको अग्राधिकार सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

बैंकले अंकित मूल्य १०० रुपैयाँका दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले ८.२५ प्रतिशत प्रतिफल पाउनेछन् ।

काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न सोमबार अनुमति दिएको हो ।

बैंकले सेबोनबाट अनुमति पाएसँगै ८.२५ प्रतिशत प्रतिफल दिने गरी ‘एसबीएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ निष्कासन गर्नेछ ।

बैंकले अंकित मूल्य १०० रुपैयाँका दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्री गर्न लागेको हो । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो । परिपत्र विधिबाट निष्कासन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन् ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना रहन्छ । सेबोनले यसअघि नबिल बैंक, कामना सेवा विकास र एनएमबि बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति दिइसकेको छ ।