काठमाडौंको गोकर्णेश्वरमा भेट्टियो नक्कली नोटको कारखाना, मेशिनसहित समातिए २ जना

पक्राउ परेकाहरूबाट प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट बाइक, भारु ५ सय दरका ३१७ थान नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोल लगायतका समानहरू बरामद गरेको छ ।

फोटोः नेपाल प्रहरी

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घरभएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । पक्राउ पर्नेमा भारतीय नक्कली नोट छाप्न काठमाडौंमा मेसिन ल्याउने व्यक्ति समेत रहेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट बाइक, भारु ५ सय दरका ३१७ थान नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोल लगायतका समानहरू बरामद गरेको छ ।

पुस १६ गते जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको थियो। त्यसक्रममा गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नक्कली नोटसहित सिन्धुपाल्चोक बाह्रबिसे-२ का ३२ वर्षीय दावा नोर्वु शेर्पासमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो।