वीरगञ्जमा सामाजिक–धार्मिक तनावका बीच निषेधाज्ञा जारी, सभा र प्रदर्शनमा पूर्ण रोक
धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा लागु भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल,उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट हुन्।
काठमाडौं । वीरगञ्जमा निषेधाज्ञा जारी भएको छ। धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको हो। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को सुचना नभएसम्मका लागि संवेदनशील क्षेत्रहरूमा यो आदेश लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनै पनि किसिमको भेला,सभा,जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञा लागु भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल,उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट हुन्। प्रशासनले उक्त आदेशको उल्लंघन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। त्यसको विरोधस्वरूप तथा हिन्दु देवीदेवतामाथि अभद्र र आपत्तिजनक टिप्पणी गरिएको भन्दै आज बिहानदेखि नै हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका थिए।