सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली लागू, नक्कली बिल–बिजक जारी गर्ने बाध्यता हटेको दावी
अर्थमन्त्री खनालले भर्चुअल माध्यमबाट एकसाथ १८ भन्सार कार्यालयमा अनलाइन मूल्यांकन डाटाबेस प्रणाली सुरु गरेका हुन् । अनलाइन मूल्यांकन डाटाबेस प्रणाली लागू गर्ने घोषणा भने पूर्वअर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । तर, कार्यान्वयनमा आउन सकेको थिएन ।
काठमाडौं । अब सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन डाटाबेस प्रणाली कार्यान्वयनमा आएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाले लगत्तै अनलाइन डाटाबेस प्रणाली कार्यान्वयन सुरु गरेका थिए । विराटनगर भन्सार कार्यालयबाट सुरु भएको अनलाइन मूल्यांकन डाटाबेस प्रणाली शुक्रबारदेखि सबै भन्सार कार्यालयमा लागू गरिएको हो । अर्थमन्त्री खनालले भर्चुअल माध्यमबाट एकसाथ १८ भन्सार कार्यालयमा अनलाइन मूल्यांकन डाटाबेस प्रणाली सुरु गरेका हुन् ।
अनलाइन मूल्यांकन डाटाबेस प्रणाली लागू गर्ने घोषणा भने पूर्वअर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । तर, कार्यान्वयनमा आउन सकेको थिएन । भन्सार व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै अर्थमन्त्री खनालले लामो समयदेखि भन्सारमा जीएटीटी मूल्यांकन प्रणाली पूर्णरूपमा लागु भएको र अब सन्दर्भ मूल्यका सट्टा कारोबार मूल्यलाई लागु गरिएको बताए ।
वस्तुको मूल्य बजारले निर्धारण गर्ने भन्दै अर्थमन्त्री खनालले प्रक्रियागत सरलीकरणमा जोड दिए । आगामी दिनमा भन्सारलाई उत्पादन र निर्यातमा आधारित अर्थतन्त्र निर्माणको मेरुदण्डका रूपमा विकास गरिनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खनालले वास्तविक कारोबार र सही कागजात पेस गरेर व्यवसायीले इमानदारीता देखाउनुपर्ने बताए । अनलाइन मूल्यांकन डाटाबेस प्रणालीका कारण निजी क्षेत्रले नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यता अन्त्य गरेको पनि अर्थमन्त्री खनालले दावी गरे ।
