पाँच महिनामै झापा इनर्जीले कमायो ४ करोड ७० लाख रुपैयाँ
सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको छ। पाँच महिनामा चार करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको हो।
काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको छ।
पाँच महिनामा चार करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवाले बताएका हुन् । त्यस्तै कम्पनीलले आ.व २०८०/८१ मा पाँच करोड २८ लाख ८४ हजार ७७७ रुपैयाँ मूल्य बराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो। आ.व २०८१र८२ मा बिक्री बढेर नौ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ पुगेको सावाँको भनाइ छ। उक्त कम्पनीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ।
१० मेगावाटको सौर्य विद्युत् परियोजना शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा सञ्चालनमा रहेको छ भने कम्पनीले २०८० साल माघ १० गतेदेखि विद्युत् को व्यावसायिक उत्पादन गर्दै आएको हो । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् ।