सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्ने, १ लाख कित्तासम्म आवेदन दिन पाइने

दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।

काठमाडौं । सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता  सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड कित्ता साधारण  सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको  सेयरको प्रि अलटमेन्ट गरीसकेको छ। त्यस्तै, कम्पनीले १० लाख कित्ता साधारण  सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ ४ गते हुनेछ भने ढिलोमा माघ १४ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ छ भने प्रतिमेगावाट अनुमानित लागत १९ करोड ८८ लाख रुपैयाँ छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष बाँकी छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.०९ वर्ष छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग तथा हिमालयन क्यापिटल लिमिटेड छ । लगानीकर्ताहरुले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।