हवाई जहाजको अधिकतम भाडादर समायोजन, तत्काल देखिने छैन असर (कहाँ कति सूचीसहित)
नयाँ भाडा दर अनुसार काठमाडौँबाट हुने उडानमा सबैभन्दा धेरै धनगढी रुटमा २६५ रुपैयाँले शुल्क घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले घटेको छ ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ । हवाई इन्धनको मूल्य घटेपछि प्राधिकरणले पनि सरचार्ज समायोजन गरेको हो ।
नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ कटौती गरेको थियो । यसको आधारमा प्राधिकरणले शुक्रबार नयाँ इन्धन शुल्क निर्धारण गरेपछि हवाई जहाजको अधिकतम भाडा दर पनि घटेको हो । प्राधिकरणका अनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम क्षेत्रका लागि प्रतिमिनेट ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ ।
नयाँ भाडा दर अनुसार काठमाडौँबाट हुने उडानमा सबैभन्दा धेरै धनगढी रुटमा २६५ रुपैयाँले शुल्क घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले घटेको छ । प्राधिकरणले सरचार्ज बापतको शुल्क घटाए पनि यसको प्रत्यक्ष असर भने पर्ने छैन । अहिले एयरलाइन्स कम्पनीहरूले लिँदै आएको भाडा दर अधिकतम भाडा दर भन्दा कम छ । यसले तत्काल प्रत्यक्ष प्रभाव नपरे पनि हवाई सेवा प्रदायकहरुले हवाई ट्राफिक बढी हुने समयमा मूल्यको सीमा कायम गर्न सक्छन् ।