विदेशीको ‘डिजिटल ट्रयाकिङ’ सुरु, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा
कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरे जानुपर्छ । डिजिटल ट्रयाकिङ प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्छ ।
काठमाडौँ । अध्यागमन विभागले नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले बिकाश गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गरेका हुन् ।
भृकुटीमण्डप स्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा अर्यालले सो प्रणालीको उद्घाटन गरे । ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गर्दै मन्त्री अर्यालले डिजिटल ट्रयाकिङ प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।
विभागले असोज १ गतेबाट नै होटल एसोसिएसन नेपालसँगको समन्वयमा पहिलो चरणमा काठमाडौँका तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु गरेको थियो । नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न दर्ता तथा अनुगमन प्रणाली को विकाश गरिएको अध्यागमन विभागले जनाएको छ ।
कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले विदेशी नागरिकको आवतजावत र बसाइलाई प्रभावकारी बनाउने बताए । नेपालमा बस्दा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै तिवारीले भने, ‘व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न सहज हुन्छ । विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यो प्रणालीले सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
उनले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरू बढिरहेको उल्लेख गर्दै ती अपराधहरू न्यूनीकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताए । ‘विश्वव्यापी रुपमा अन्तरदेशीय तथा सीमापार सीमापार अपराधहरू (क्रस बोर्डर) अपरामा वृद्धि भइरहेको छ । यसका साथै अपराधमा प्रविधिको व्यापक प्रयोग भई नवीन प्रकृतिका अपराधहरू बढिरहेका छन् । यस्ता नवीन प्रकृतिका विश्वव्यापी अपराधलाई पहिचान गरी अपराध न्यूनीकरण तथा नियन्त्रण गरी राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सबलीकरण गर्न अध्यागमन प्रणालीको आधुनिकीकरण अपरीहार्य छ,’ उनले भने । नेपाली नागरिकहरूको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरूको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ छ ।
विभागले सुरु गरेको प्रणाली अनुसार कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरे जानुपर्छ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ । विवरण इन्ट्री नगरेको अवस्थामा होटलहरूले विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने गरी प्रणाली विकाश गरिएको छ ।
देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्स्चेन्जहरूबाट सो प्रणाली लागु गरिएको छ । सो प्रणाली क्रमशः सबै प्रकारका होटल तथा गेस्ट हाउसमा तथा सार्वजनिक तथा निजी संस्थाहरूमा पनि लागु गरिने विभागले जनाएको छ ।