अंग्रेजी नयाँ वर्ष २०२६ सुरु, आज राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो । यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ ।

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।

नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ।

नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

अंग्रजी नयाँ वर्षकै दिन नेपालमा पछिल्लो समय राष्ट्रिय पोसाक र टोपी दिवस मनाउने गरिएको छ । विभिन्न युवा संस्थाको सहभागितामा विभिन्न कार्यक्रम आयोजना गरी आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो । यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।