अधिक तरलताको असर: राष्ट्र बैंकले दोस्रो पटक निकाल्यो २५ अर्बको एक वर्षे ऋणपत्र

राष्ट्र बैंकले गत सोमबार निकालेको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ मा बैंक तथा वित्तीय संस्थाले माग भन्दा ४८.८२ गुणा बढी अर्थात् १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँको आवेदन दिएका थिए ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले दोस्रो पटक २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ ।

केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ’ख’ निष्कासन गरेको हो । राष्ट्र बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको जनाएको छ ।

ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट तय गरिने जनाइएको छ । ऋणपत्रमा न्युनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ ।

यसको सावाँ २०८३ पुस १६ गते भुक्तानी हुनेछ । ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्रै आवेदन दिने सक्नेछन् । ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले त्यसलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

यसअघि २०८३ पुस १४ गते सावाँ भुक्तानी गर्नेगरि निकालिएको ऋणपत्रमा मागभन्दा निकै बढी आवेदन परेको थियो । राष्ट्र बैंकले गत सोमबार निकालेको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ मा बैंक तथा वित्तीय संस्थाले माग भन्दा ४८.८२ गुणा बढी अर्थात् १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँको आवेदन दिएका थिए । यसले वित्तीय क्षेत्रमा अधिक तरलताको संकत गरेको भन्दै केन्द्रीय बैंकले फेरी एक पटक एक वर्षका लागि २५ अर्व रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ ।