४९ लाख धराैटीमा छुटे सेयर कारोबारी दीपेन्द्र अग्रवाल
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गर्दा भ्रामक सूचना सार्वजनिक गरेको र बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको आरोप छ ।
सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पुस ४ गते पक्राउ गरेको थियो ।
सिआइबीका अनुसार अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार धरौटीमा छाडिएको हो । नेपाल धितोपत्र बोर्डले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको थियो । बोर्डको प्रारम्भिक प्रतिवेदनअनुसार उनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गर्दा भ्रामक सूचना सार्वजनिक गरेको र बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको आरोप छ।
अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँ कानुन विपरीत नाफा कमाएको आरोप छ । साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको पनि प्रतिवेदनमा उल्लेख छ ।
बोर्डले दफा ९४ र ९५ अनुसार झूटो कारोबार र मूल्य प्रभावित पार्ने अपराध गरेको देखिएको भन्दै प्रहरीलाई कारबाहीको सिफारिस गरेको थियो। यसअघि पनि अग्रवाललाई ठगी कसुरमा पक्राउ गरिएको थियो ।