वित्तीय संस्थालाई राजनीतिक स्वार्थ पूर्तीको थलो बनाईंदा धेरै क्षेत्रमा असर पर्छः एनबीए अध्यक्ष कोइराला

ऋण दिने र लिने विषय कानूनमा स्पष्टसँग उल्लेख गरिएको छ, सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको हुन्छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद् छ । कतिपय व्यक्तिले बिना कुनै आधार ऋण मिनाहालगायत आश्वासन दिएको पाइन्छ । त्यसप्रकारका अतिरञ्जित विषयमा फस्नु हुँदैन ।

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष सन्तोष कोइरालाले वित्तीय संस्थालाई राजनीतिक स्वार्थ पूर्तीको थलो बनाउन खोज्दा स्थिति भयावह हुने दावी गरेका छन् । पछिल्लो समय राजनीतिक स्वार्थ पूर्ती गर्न बैंक तथा वित्तीय संस्थामाथि आक्रमण गर्ने प्रवृत्ति देखिएको भन्दै माछापुच्छे«  बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अध्यक्ष कोइरालाले वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको बताए । ५० हजारभन्दा बढीलाई रोजगारी दिने वित्तीय क्षेत्रमा असर पर्दा अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले संयमता अपनाउन आवश्यक रहेको कोइरालाको भनाई छ ।

नेपाल आर्थिक पत्रकार समाजले आज आयोजना गरेको ‘बैकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक कार्यक्रममा कोइरालाले बैंकका कर्मचारीमाथि भएको आक्रमणले वित्तीय क्षेत्रमा चुनौती बढेको बताए । 'ऋण दिने र लिने विषय कानूनमा स्पष्टसँग उल्लेख गरिएको छ, सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको हुन्छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद् छ', उनले भने, 'कतिपय व्यक्तिले बिना कुनै आधार ऋण मिनाहालगायत आश्वासन दिएको पाइन्छ । त्यसप्रकारका अतिरञ्जित विषयमा नफस्न पनि आग्रह गर्दछु ।' बैंकिङ अन्य क्षेत्रको तुलनामा बढी पारदर्शी भएको र बैंकमा समस्या हुँदा अन्य क्षेत्रमा पनि असर पर्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्नेमा अध्यक्ष कोइरालाको जोड छ ।

‘राजनीतिसँग हाम्रो कुनै लेनदेन पनि छैन । कसले के राजनीति गर्ने भन्ने कुरामा चासो पनि राख्दैनौँ । तर राजनीति बढाउने क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारी साथीहरूमाथि कुनैपनि प्रकारका धरपकडहरू हुन्छन्, धम्की र त्रास हुन्छ, कालोमोसो दलिन्छ, जुत्ताको माला लगाइन्छ भने हामी बैंकर्सहरु पनि त्यसलाई सहेर बस्दैनौँ ’ अध्यक्ष कोइरालाले भने । आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न बैंकका कर्मचारीहरूमाथि भएको आक्रमणको विरोध गर्ने कोइरालाले बताए । 

पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक उतारचढावले कर्जा प्रवाहमा कमी आएको हुनसक्ने भन्दै अध्यक्ष कोइरालाले भने, 'लगानीकर्ताको मनोबल पनि कमजोर छ । कर्जा प्रवाहका सम्बन्धमा केन्द्रीय बैंकले सकारात्मक प्रयास अघि बढाएपनि आशातित् सफलता हात लागिरहेको छैन ।'