काठमाडौं उपत्यकामा नयाँ ट्रायल सेन्टर खोल्ने प्रक्रिया स्थगित, बालाजुले निकाल्यो सूचना

आइतबार दिउँसो १ बजेसम्म भएका शिलबन्दी प्रस्ताव फाराम दर्ताको कार्यलाई यथावत् राखिएको छ । तर, सो समयपछिका प्रचलित ऐन र कानूनबमोजिमका सूचनाका अन्य बाँकी चरणहरू भने मन्त्रीज्यूको स्थगन आदेश प्राप्त भएकाले हाललाई रोकिएको सूचनामा उल्लेख छ ।

काठमाडौं। काठमाडौं उपत्यकाभित्र नयाँ ट्रायल सेन्टर सञ्चालनका लागि अघि बढाइएको प्रक्रिया रोकिएको छ ।

यातायात व्यवस्था कार्यालय बालाजुले सेवा विस्तारको प्रक्रिया अगाडि बढाउँदै २६ मंसिर २०८२ मा शिलबन्दी प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्ताव आह्वान सम्बन्धी प्रक्रियाको फारम खरिद कार्य यथावत राखिए पनि कानुन बमोजिमका सूचनाको बाँकी चरण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । कार्यालयले आज आइतबार प्रस्तावको चरणहरू स्थगनको सूचना निकालेर प्रक्रिया रोकेको हो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले ९ पुसमा कार्यालयलाई प्रक्रिया रोक्न ७ बुँदामा ठाडो निर्देशन दिएका थिए । कार्यालयका अनुसार आइतबार दिउँसो १ बजेसम्म भएका शिलबन्दी प्रस्ताव फाराम दर्ताको कार्यलाई यथावत् राखिएको छ । तर, सो समयपछिका प्रचलित ऐन र कानूनबमोजिमका सूचनाका अन्य बाँकी चरणहरू भने मन्त्रीज्यूको स्थगन आदेश प्राप्त भएकाले हाललाई रोकिएको सूचनामा उल्लेख छ ।

यसअघि कार्यालयले गत मङ्सिर २६ गते शिलबन्दी प्रस्ताव आह्वानको सूचना प्रकाशित गरेको थियो । सोही सूचनाका आधारमा पुस ११ गतेसम्म प्रस्ताव फाराम बिक्री गर्ने कार्य सम्पन्न भई केही फारामहरू दर्तासमेत भइसकेका थिए । स्थगन गरिएका प्रक्रियाहरू कहिलेदेखि पुनः सुचारु हुने भन्नेबारे कार्यालयले अर्को सूचनामार्फत जानकारी गराउने बताएको छ ।