चाँदी आयातको कोटा बढ्यो, के छ नयाँ व्यवस्था ?

नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र - २०८१ मा संशोधन गर्दै सुनचाँदी सम्बन्धी उद्योगहरूले चाँदी औद्योगिक कच्चा पदार्थका रूपमा आयात गर्दा अमेरिकी डलर २० लाखसम्म सटही सुविधा लिन सकिने बनाएको हो ।

काठमाडौं । उद्योगी तथा व्यवसायीहरूले महिनामा एकपटक मात्र चाँदी आयात गर्न पाउने गरि सरकारले चाँदी आयातमा सटही सुविधाको सीमा परिमार्जन गरेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र - २०८१ मा संशोधन गर्दै सुनचाँदी सम्बन्धी उद्योगहरूले चाँदी औद्योगिक कच्चा पदार्थका रूपमा आयात गर्दा अमेरिकी डलर २० लाखसम्म सटही सुविधा लिन सकिने बनाएको हो । नयाँ व्यवस्था अनुसार सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्न सक्छन् । त्यस्तै अन्य चाँदी व्यवसायीहरूले अमेरिकी डलर ४ लाखसम्म चाँदी आयात गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसअघि उद्योगहरूले प्रति पटक अमेरिकी डलर ५ लाखसम्म तथा अन्य व्यवसायीहरूले अमेरिकी डलर १ लाखसम्म मात्र चाँदी आयात गर्न पाउँथे ।

चाँदीको गरगहना कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई विभिन्न सटही सुविधा प्रदान गर्न सकिनेछ । जसमा निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा भुक्तानीको सीमा लागू हुने छैन ।

सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नु पर्नेछ । सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वः घोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ ।



प्रकाशन भएका दस्तावेजहरू

69510ef71f841_1766919927.pdf