सातामै झण्डै ११ हजारले बढ्यो प्रतितोला सुन, अझै बढ्ने क्रम थामिएन
अन्तर्राष्ट्रिय बजारमा सुन अझ महँगिने क्रम थामिएको छैन । शनिबार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति औंस ५४.६३ डलर बढेर ४५३४.१६ डलर पुगेको छ ।
काठमाडौं । यो साताभर सुनको मूल्यमा तीव्र उतारचढाब आएको छ । एक सातामा सुनको मूल्य तोलामै १० हजार ९०० रुपैयाँले बढेको छ । यद्यपी सातामा एकाध दिन सुनको मूल्य घटेपनि समग्रमा बढेको हो ।
गत पुस ४ गते शुक्रबार २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस ६ गते आइतबार एक सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, पुस ७ गते सोमबार सुनको मूल्य बढेर २ लाख ६१ हजार ७०० रुपैयाँ पुग्यो । पुस ८ गते मंगलबार सुनको मूल्य ५ हजार ५०० रुपैयाँ बढेर २ लाख ६७ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भयो भने पुस ९ गते बुधबार ९०० रुपैयाँले बढेर २ लाख २८ हजार १०० रुपैयाँमा किनबेच भयो ।
त्यस्तै, पुस १० गते बिहीबार ६०० रुपैयाँले घटेर सुनको प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको सुन पुस ११ गते शुक्रबार तोलामा १८०० रुपैयाँ बढेर बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । त्यसदिन बजारमा सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सुन चाँदीको मूल्यले लगातार रेकर्ड कायम गर्नुमा अन्तर्राष्ट्रिय प्रभावलाई मानिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी मुद्रास्फीति अपेक्षाभन्दा धेरै कम हुनु, ट्यारिफका कारण सृजित मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडले जनवरीबाट ब्याजदरमा पुनः कटौतीको सङ्केत दिनुका साथै भूराजनीतिक तनाव यथावत् रहेका कारण लगातार सुनचाँदीको मूल्यमा बृद्धि भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन अझ महँगिने क्रम थामिएको छैन । शनिबार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति औंस ५४.६३ डलर बढेर ४५३४.१६ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारलाई हेर्ने हो भने एक महिनामा सुनको मूल्यमा प्रति औंस ३२३.२२ डलर बढिसकेको छ । यस्तै चाँदी पनि बढेर प्रति औंस ७९.२५ डलर पुगेको छ। एक महिनामा चाँदीको मूल्यमा पनि १८.५२ डलरको बढोत्तरी भइसकेको छ ।