पाँचौ मन्त्रिपरिषद विस्तारमा परराष्ट्रमन्त्री बने बालानन्द शर्मा, लिए पद तथा गोपनीयताको शपथ
शर्मालाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्रीका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा शर्माले शपथ लिएका हुन् । आज पाँचौ पटक मन्त्रिपरषद् विस्तार पाँचौपटक भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुखको सहभागिता थियो ।
नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका उनी प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।