निर्वाचनपछि देशको अर्थतन्त्रले लय समाउँछ : अर्थमन्त्री खनाल

जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको दावी गरिएको छ ।

काठमाडौं । अर्थमन्त्री डा। रामेश्वर खनालले आम निर्वाचनपछि देशको अर्थतन्त्र क्रमशः लयमा फर्किने बताएका छन् ।

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा अर्थमन्त्री खनालले अर्थतन्त्रका अवयवहरुमा सुधार देखिँदै गएकाले निर्वाचन पछि निजी क्षेत्रमा सकारात्मक भाव पैदा भई अर्थतन्त्र थप चलायमान हुने बताए । 

जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको भन्दै अर्थमन्त्री खनालले आगामी फागुन २१ गते निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरे । अर्थमन्त्री खनालले सरकारले निर्वाचनको वातावरण बनाइसकेकाले कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न पनि आम नागरिकलाई आग्रह गरे । 

कार्यक्रममा अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै सम्पन्न भएको उल्लेख गर्दै खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बताए । दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी तथा अस्पताल व्यवस्थापनका पदाधिकारीको उपस्थिति थियो ।