नाडालाई महासंघको अवधारणामा लगिने, नयाँ नेतृत्व पुस २५ मा छानिने

निर्वाचनका लागि कानुन व्यवसायी रमण कर्णलाई निर्वाचन अधिकृत तोकिएको छ भने २५ गते चयन हुने नयाँ नेतृत्वले नाडालाई महासंघमा रुपान्तरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेछ ।

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाललाई महासंघमा रुपान्तरण गरिने भएको छ ।

बुधबार ललितपुरको एक होटलमा भएको ४९औं वार्षिक साधारणसभाले अध्यक्ष करण चौधरीले राखेको प्रस्ताव पारित गरेको छ । यद्यपी जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार नाडालाई महासंघमा लाने प्रस्ताव कानुन सम्मत नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

अध्यक्ष चौधरीले नाडाको नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन गर्ने घोषणा गरेका छन् । निर्वाचनका लागि कानुन व्यवसायी रमण कर्णलाई निर्वाचन अधिकृत तोकिएको छ भने २५ गते चयन हुने नयाँ नेतृत्वले नाडालाई महासंघमा रुपान्तरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेछ ।

नाडाको विधान अनुसार हरेक दुई वर्षमा कार्यसमिति चयन गर्नुपर्छ । नाडाले २०८० पुस २० गते साधारणसभाबाट चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व छानेको थियो । नाडाको विधानमा साधारणसभाको १५ दिन अगाडि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।