राष्ट्रपतिको पहलमा तीन ठूला दलका शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता
सरकार र तीन ठूला दलको यो वार्ताले अब फागुन २१ मा निर्वाचन हुने/नहुने कुराको करिब निर्क्योल गर्नेछ । एमाले र कांग्रेसले सरकारले फागुन २१ मा चुनाव हुने गरी वातावरण नबनाएको बताइरहेका छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन ठूला दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच पहिलो पटक शीतल निवासमा प्रत्यक्ष वार्ता भइरहेको छ ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेतालाई राष्ट्रपतिले भेटाएका हुन् । जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व गरेयता कार्कीले यी शीर्ष नेतासँग संवाद गर्न अनिच्छा देखाउँदै आएकी थिइन् ।
देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता (पुर्वप्रधानमन्त्रीहरु) र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष संवाद भएको हो । सरकार र तीन ठूला दलको यो वार्ताले अब फागुन २१ मा निर्वाचन हुने/नहुने कुराको करिब निर्क्योल गर्नेछ । एमाले र कांग्रेसले सरकारले फागुन २१ मा चुनाव हुने गरी वातावरण नबनाएको बताइरहेका छन् । एमाले अध्यक्ष ओलीलाई स्थान हदमा राखिएको छ ।
ओली एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकालकालागि एमालेको अध्यक्ष बनेका छन् । दाहालले माओवाद छाडेर नेकपा गठन गरी संयोजक बनेका छन् भने देउवा आगामी निर्वाचनमा फेरि उठ्ने तयारीमा लागेका छन् ।