प्रिया चाट हाउस र आइ क्याफे रेष्टुरेन्टलाई ५५ हजार जरिबाना, पिरो कागती क्यान्डी खान अयोग्य

बजार अनुगमनका क्रममा पिरो कागती क्यान्डीको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य रंग (खाद्य योगशील) तोकिएको भन्दा बढी भेटेको हो ।

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाट हाउस र रेष्टुरेन्टलाई जरिबाना तिराएको छ । विभागले आइतबार बजार अनुगमनका क्रममा २ फर्मलाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

महाराजगंजमा रहेको प्रिया स्विट एण्ड चाट हाउसलाई ५० हजार रुपैयाँ तथा टोखामा रहेको आइ क्याफे रेष्टुरेन्ट एण्ड बारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । साथै, विभागले १४ वटा व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिइएको जनाएको छ ।

उता, पिरो कागती क्यान्डी खानका लागि अयोग्य रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बजार अनुगमनका क्रममा उक्त क्यान्डीको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य रंग (खाद्य योगशील) तोकिएको भन्दा बढी भेटेको हो ।

चावहिलमा रहेको एलिजा ईजी ट्रेड लिंकले उत्पादन गरेको ब्याच ०७ को पिरो कागती क्यान्डी १०० ग्राममा खाद्य रंग तोकिएको भन्दा बढी प्रयोग भएको विभागले जनाएको छ । क्यान्डी न्यून गुणस्तरको भेटिएपछि विभागले तत्काल बजारबाट फिर्ता गर्न र विक्री नगर्न निर्देशन दिएको छ ।