सालपा विकास बैंकको आईपीओ पुस १६ देखी, कतिसम्म भर्न पाईन्छ ?

अब दोस्रो चरणमा बैंकले १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।

काठमाडौं । सालपा विकास बैंकले पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ) विक्री गर्ने गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ८६ लाख १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर आफ्ना कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल छ। लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको सि–आस्बा प्रणाली वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।