राष्ट्र बैंकले सवा अर्ब रुपैयाँ निक्षेप वित्तीय संस्थामा राख्दै, बोलकबोलमा ब्याजदर

केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

सूचनाअनुसार, ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ‘ख’ वर्गका विकास बैंकमा १८ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड बराबरको रकम लगानी गर्न लागेको हो ।

निक्षेप माग गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम रहेको, कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।