तोडिएका ठेक्कामा तत्काल टेन्डरको नयाँ प्रक्रिया थाल्न मन्त्री घिसिङको निर्देशन
सडक विभागअन्तर्गत वर्षौंदेखि अलपत्र रहेका सडक र पुल निर्माणका ४३ वटा ठेक्का घिसिङ मन्त्री भएपछिको ३ महिनामा तोडिएका छन् । यी ठेक्काको कुल लागत २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले अलपत्र रहेर ठेक्का तोडिएका आयोजनाको काम पुनः सुरु गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्द भएका ठेक्काको बाँकी कामको नापजाँच र बजेट मूल्यांकन गरेर नयाँ टेन्डर प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएका हुन् ।
सडक विभागअन्तर्गत वर्षौंदेखि अलपत्र रहेका सडक र पुल निर्माणका ४३ वटा ठेक्का घिसिङ मन्त्री भएपछिको ३ महिनामा तोडिएका छन् । यी ठेक्काको कुल लागत २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ छ । मन्त्री घिसिङका अनुसार योजनाको स्रोत व्यवस्थापन पहिले नै सुनिश्चित भएकाले तत्काल नयाँ टेन्डर प्रक्रिया सञ्चालन गर्न समस्या भएको छ । उनले पुल निर्माणमा बहुवर्षीय सहमतिमा देखिएको अन्योल हटाउने प्रतिबद्धता जनाएका छन् ।
विशेषगरी तराई–मधेस क्षेत्रमा पुल निर्माणमा समस्या रहेको भन्दै मन्त्री घिसिङले भने, ‘सडक निर्माणमा निश्चित बजेट आएपछि काम अघि बढाउन सजिलो छ, तर पुल निर्माणमा त्यति सहज छैन । यसका लागि बहुवर्षीय योजना आवश्यक छ ।’
चालु आवको पहिलो त्रैमासिकमा मन्त्रालय अन्तर्गतका निकायको प्रगति पनि अपेक्षाकृत नभएकोमा घिसिङले चिन्ता व्यक्त गरे । घिसिङले भने, ‘बजेट रोक्का एउटा कारण हुन सक्छ, तर बजेट समस्या नभएका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको समेत प्रगति कम देखिन्छ। देखिएका समस्या समाधान गरी निर्माण कार्यमा सुधार आवश्यक छ। यसमा सबैले पहल गर्नुपर्छ ।’ मन्त्रालयले ठेक्का पुनः व्यवस्थापनमा देखिएको अन्योल, स्थानीय अवरोध र निर्माण कार्यमा अधिकार क्षेत्रको अस्पष्टतालाई पनि चुनौतीका रूपमा प्रस्तुत गरेको छ ।