अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम, नेपाल पनि प्रभावित

नेपालमा पनि वर्षेनी हजारौं मानिसहरुले डीभी भर्ने गरेको र केही मानिसहरु डीभीमार्फत अमेरिका प्रवेश गरेको पाईन्छ । कार्यक्रम रोकिँदा नेपालीहरुको अमेरिका जाने सपनामा ठेस लागेको छ ।

काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।

स्थानीय समयअनुसार बिहीबार अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी डीएचएसले डीभी कार्यक्रम स्थगित गर्ने घोषणा गरेको हो । हालै भएका गोलीकाण्डमा संलग्नहरु डीभीमार्फत अमेरिका प्रवेश गरेको खुलेपछि कार्यक्रम नै बन्द गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा तत्कालै लागू हुनेगरी डीभी कार्यक्रम स्थगित गरिएको डीएचएस प्रमुख क्रिस्टी नोमले घोषणा गरेकी छिन् । हालै अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न व्यक्ति डीभी परेर अमेरिका प्रवेश गरेको खुलेको छ ।

घटनामा दुई जनाको ज्यान गएको थियो भने नौ जना घाइते भएका थिए । गोलीकाण्डका अभियुक्त सन् २०१७ मा डीभीमार्फत अमेरिका प्रवेश गरेको जनाइएको छ । डीभी कार्यक्रममार्फत् अमेरिकाले हरेक वर्ष ५० हजार जनालाई अमेरिका प्रवेश गर्ने बाटो खोल्छ । अमेरिकामा कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई डीभीमार्फत् भिजा दिने गरिन्छ ।

नेपालमा पनि वर्षेनी हजारौं मानिसहरुले डीभी भर्ने गरेको र केही मानिसहरु डीभीमार्फत अमेरिका प्रवेश गरेको पाईन्छ । कार्यक्रम रोकिँदा नेपालीहरुको अमेरिका जाने सपनामा ठेस लागेको छ ।

डीभी २०२५ का लागि करिब २० मिलियन मानिसहरूले आवेदन दिएका थिए, जसमध्ये १ लाख ३१ हजारभन्दा बढी (पति-पत्नी सहित) छानिएका थिए । डीभी २०२६ को आवेदन प्रक्रिया चलिरहेको छ, तर यो स्थगनले यसमा प्रभाव पार्न सक्छ ।