नेपाल ट्रस्टको जग्गा अनियमिततामा पूर्वसचिव कार्कीसहित ४ प्रतिवादीविरुद्ध मुद्दा दायर

विज्ञापन
ncell

५ वर्ष कैद सजाय माग

सीआईबी अनुसन्धनको निष्कर्षका आधारमा नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ र उक्त ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाएको हो ।

काठमाडौं । नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

बुधबार सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनुसन्धनको निष्कर्षका आधारमा नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ र उक्त ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाएको हो । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले उनीहरुविरुद्ध मुद्धा चलाउनुपर्ने राय लेखेको थियो ।

नेपाल ट्रस्टले सात वर्षअघि दरबारमार्गस्थित जग्गा थमसेर्कुलाई लिजमा दिने निर्णय गर्दा अनियमितता भएको भनी सार्वजनिक रुपिमा प्रश्न उठिरहेको छ । अनियमितता र भ्रष्टाचारको पर्याप्त प्रमाण हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वर्षअघि मिलेमतोमा फाइल तामेलीमा राख्ने निर्णय गरेको आरोप पनि छ । निर्णयमा तत्कालीन सचिव कार्की र सहसचिव कार्की संलग्न छन् । पछिल्लो समय सीआईबीले ‘ठगी र आपराधिक विश्वासघात’को आरोपमा अनुसन्धान अघि बढाएको थियो ।

उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको र उक्त सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको सीआईबीको निष्कर्ष छ । नेपाल ट्रस्टले २०७३ असार १४ गते दरबारमार्गस्थित जग्गा भाडामा दिन टेन्डर आह्वान गरेको थियो । सो टेन्डरअनुसार २०७४ जेठ १४ गते कित्ता नम्बर ४६०६ को जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने निर्णय गरिएको थियो ।