विदेश अध्ययनमा ३३ प्रतिशत र विदेश भ्रमणमा १६ प्रतिशत खर्च बृद्धि, आय नगन्य
४ महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड बराबर छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड थियो । भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड थियो ।
काठमाडौं । देशमा बसि खान देउ भन्दै भदौ २३ र २४ गते जेनजी आन्दोलन भएपनि विदेश भ्रमणा र अध्ययनका लागि विदेशिनेहरुको चाप बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को पहिलो चार महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका विषयमा सार्वजनिक तथ्याांंकले यसअवधिमा ठूलो रकम बाहिरिएको देखाउँछ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । ४ महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड बराबर छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब १० अर्ब अर्थाेत ३३ प्रतिशत बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको छ ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब एक करोडले घाटामा रहेको थियो ।