१४ बैंकले घटाए ब्याजदर, औसत ब्याजदर ४.८३ प्रतिशतमा झर्यो
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ ।
काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि पनि ब्याजदर घटाएका छन् । पुस १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
पुस महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ घटेर औसत ४.८३ प्रतिशतमा झरेको छ । मंसिरमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.०४ प्रतिशत थियो । पुस महिनाका लागि १४ बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका का कारण औसत ब्याजदर घट्न पुगेको हो ।
उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत नीतिगत दर घटेसँगै बैंकको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब परेका कारण मंसिरको तुलनामा पुसमा थप घटेको छ ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
यस्तै, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । पुसमा सबैभन्दा धेरै हिमालयन बैंकले ब्याजदर घटाएको छ ।