निवर्तमान अर्थ समिति सभापति चालिसेविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा

अख्तियारले चालिसेसहित पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जिव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेला गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग चालिसेमाथि लगाएको हो । साथै चालिसेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।

आठ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका चालिसेले चार करोड ८८ लाख रुपैयाँ मात्रै वैध आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ ।

अख्तियार गैरकानुनी कमाइै गरेको भनिएको  ३ करोड ६८ लाख रुपैयाँलाई बिगो कायम गरेको छ । अख्तियारले चालिसेसहित पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जिव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

२०७४ जेठदेखि ५ वर्ष गोकर्णेश्वर नगरपालिकाका मेयर चालिसे कार्यकाल सकिएको केही महिनापछि नै २०७९ मंसीरमा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए । अख्तियारले संसदीय समितिको नेतृत्व गरेका व्यक्तिमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको यो पहिलो घटना हो ।