प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन शाक्य पक्राउ
यसअघिनै प्रभु बैंकका सीईओ अशोक शेरचन, डिसीईओ मणिराम पोखरेल, प्रमुख कर्ता अधिकृत रिवास श्रेष्ठ र गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । उनीहरूमाथी बैंकिङ कसूरमा अनुसन्धान भइरहेको छ ।
काठमाडौं । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्य पक्राउ परेका छन् ।
बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई हानी र आफ्नो स्वार्थ समूह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुनेगरि रेमिट वापतको प्रिफण्डिङ दिनसक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरि एक अर्ब रुपैयाँ हानीनोक्सानी पुर्याएको आरोपमा शाक्यलाई पक्राउ गरेको हो ।
सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार शाक्यमाथि प्रभु बैंकलाई १ अर्ब रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्याएको आरोप छ । उनले रेमिट ट्रान्सफरबाट बैंकलाई फाइदा हुने भन्दै रेमिट बापतको ‘प्रिफन्डिङ’ दिन सकिने कानुनी व्यवस्थाको दुरुपयोग गरेको प्रहरीको आरोप छ ।
प्रभु म्यानेजमेन्ट प्रालिलाई नियम विपरीत सुपर एजेन्ट बनाई एडभान्स रकम दिएको र रेमिट कारोबार स्थगित भएपछि पनि लामो समयसम्म उक्त रकम स्वार्थ समूहलाई प्रयोग गर्न दिएको आरोप उनीमाथि छ । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गरी बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैयाँ नोक्सानी पुर्याएको र सो अपराध लुकाउन थप कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको सीआईबीको आरोप छ ।
यसअघिनै यस प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, प्रमुख कर्ता अधिकृत रिवास श्रेष्ठ र गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।उनीहरूमाथी बैंकिङ कसूरमा अनुसन्धान भइरहेको छ ।