११ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति?

काठमाडौं । हालसम्म ११ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१(८२ को नाफाबाट लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अहिलेसम्म ११ वटाले लाभांश घोषणा गरेका छन् । 

एउटा वाणिज्य बैंकले लाभांश नदिने घोषणा गरेको छ भने बाँकी ७ वटामध्ये २ वटामात्रै लाभांश दिन सक्ने अवस्थामा देखिन्छन्। 

लाभांश घोषणा गर्ने बैंकहरुमा एभरेष्ट, माछापुच्छ्रे, सिटिजन्स, सिद्धार्थ, ग्लोबल आईएमई, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, लक्ष्मी सनराइज, एमएबी र नेपाल एसबीआई बैंक छन् । 

सबैभन्दा धेरै एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरेर २० प्रतिशत लाभांश वितरण गरेको छ भने सबैभन्दा कम सिटिजन्स बैंकले ५ प्रतिशत बोनस र ०।२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद, कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत गरी १०.५३ प्रतिशत, सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत, एनएमबी बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत, ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद, माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन्। 

नेपाल एसबीआई बैंकले ४ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ९ प्रतिशत लाभांश घोषणा गरेको छ। कुमारी बैंकले लाभांश नदिने घोषणा गरिसकेको छ। 

बाँकी ७ वटामध्ये नबिल र प्रभु बैंकले मात्रै लाभांश दिन सक्छन्। गत आवको वित्तीय रिपोर्ट अनुसार नबिल बैंकले १७.६४ प्रतिशतसम्म लाभांश दिन सक्छ भने प्रभुले ४.४४ प्रतिशत लाभांश दिन सक्छ।

लाभांश दिन नसक्ने बैंकहरुमा हिमालयन, नेपाल बैंक, एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम बैंक छन् ।