आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ ।

समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ ।

आयोगको निर्वाचन कार्यक्रम अनुसार आगामी माघ ३० गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची प्रकाशित हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ।

उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुने र माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।