निर्माण कम्पनीले डिजाइन गर्नेगरी नेपालमै नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र विश्व बैंकले डिजाइन स्वीकृति दिएपछि पुल निर्माणको काम सुरु हुनेछ । पुलको लागत एक अर्ब रुपैयाँभन्दा माथि अनुमान गरिएको छ । निर्माण कम्पनीले डिजाइन तयार गरेपछि मात्रै लागत अनुमान हुने छ ।

काठमाडौं । नेपालमै नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न भन्दै ठेक्का आह्वान गरिएको छ।

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक खण्ड अन्तर्गत तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउन सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले शुक्रबार ठेक्का आह्वान गरेको हो ।

डिजाइन एण्ड बिल्ड मोडलमा पुल निर्माण गरिनेछ । यसमा निर्माण कम्पनीले नै पुलको डिजाइन गर्नुपर्ने छ । पुल निर्माणको ठेक्काका लागि आवेदन पेस गर्न जनवरीसम्मको समय दिइएको छ ।

२४० मिटर लामो पुलसँगै सर्भिस लेनसहित ९८० मिटरको पहुँच सडक पनि निर्माण गर्नुपर्नेछ । तिनाउमा बन्ने पुल नेपालमै अहिलेसम्मकै नयाँ प्रविधिको हुने बताइएको छ । महाशाखाका अनुसार युरोपका धेरै सहरमा निर्माण गरिएको यस प्रकृतिको पुल फरक र कलात्मक डिजाइनको हुने दाबी गरिएको छ। पुलमा आकर्षक लाइटसमेत जडान गरिने भएकाले रातिको समयमा आकर्षक देखिनेछ । तिनाउमा निर्माण गरिने पुलमा सामान्य पुलमाभन्दा दोब्बर फराकिलो फुटपाथ हुनेछ ।झट्ट हेर्दा नेटवर्क आर्क ब्रिज जस्तै डिजाइन हुने र पुललाई आकर्षक देखाउन डण्डीहरुमा समेत कलात्मक डिजाइन दिइने भएकाले पुलले पर्यटकीय महत्त्व राख्ने विश्वास महाशाखाको छ ।

महाशाखाले तयार पारेको डिजाइन खाकामा आधारित रहेर निर्माण कम्पनीले पुलको डिजाइन बनाउनु पर्नेछ । महाशाखा र विश्व बैंकले डिजाइन स्वीकृति दिएपछि पुल निर्माणको काम सुरु हुनेछ । पुलको लागत एक अर्ब रुपैयाँभन्दा माथि अनुमान गरिएको छ । निर्माण कम्पनीले डिजाइन तयार गरेपछि मात्रै लागत अनुमान हुने महाशाखाको भनाई छ । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत तिनाउ नदीको पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रमा सवारी चाप अत्यधिक बढेका कारण नयाँ ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दुई वर्षअघिबाट तयारी थालिएको थियो ।