मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

काङ्ग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट गरेका थिए । उस्तै प्रकारका तीन रिट उपरको सनुवाइ गर्दै सर्वोच्च अदालतले गत मङ्सिर १५ गते २४ घण्टाभित्र तत्कालीन सरकारलाई विश्वासको मत लिन र विश्वासको मत लिन नसके संविधानको धारा १६८ को २ बमोजिम अर्को सरकार गठन गर्न परमादेश जारी गरेको थियो ।