आज विश्व माटो दिवस र अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित सन् २०१३ जुनमा राष्ट्रसंघले विश्व माटो दिवस मनाउने घोषणा गरेको हो । त्यसपछि हरेक वर्ष डिसेम्बर ५ मा माटो दिवस मनाउने गरिएको छ ।

काठमाडौं । आज विश्वभर एकैसाथ दुई दिवस मनाईंदै छ । विश्व माटो आज परेको छ भने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस पनि आजै परेको छ । दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान हरेक वर्ष मनाइन्छ ।

माटो दिवसको यस वर्षको नारा ‘स्वस्थ माटोका लागि स्वस्थ शहर’ तय गरिएको छ भने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा दिइएको छैन ।

स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित सन् २०१३ जुनमा राष्ट्रसंघले विश्व माटो दिवस मनाउने घोषणा गरेको हो । त्यसपछि हरेक वर्ष डिसेम्बर ५ मा माटो दिवस मनाउने गरिएको छ ।

विश्वभर माटो संरक्षण, दिगो कृषि व्यवस्था तथा जलवायु परिवर्तनको प्रभाव कम गर्न आवश्यक उपायहरूबारे बहस र अभियान सञ्चालन हुने गरेका छन् । कृषि उत्पादन, वातावरणीय सन्तुलन र समग्र मानव अस्तित्वमा माटोको भूमिका महत्वपूर्ण भएकाले माटो संरक्षण र दिगोपनलाई प्राथमिकतामा राखि कृषक, सरकार, वैज्ञानिक समुदाय र आम नागरिकलाई माटोको संरक्षणतर्फ सचेत र सक्रिय बनाउन यो दिवसले विश्व समुदायलाई स्मरण गराउने गरेको छ ।

त्यसैगरी स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्वयंसेवक दिवस सन् १९८५ देखि मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तर्राष्ट्रिय दिवसका रूपमा सदस्य देशमा स्वयंसेवक दिवस मनाउने घोषणा गरेसँगै हरेक वर्ष मनाउँदै आइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार आज न्यूयोर्कस्थित राष्ट्रसंघको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्न प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ । स्वयंसेवक दिवसका अवसरमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सबै स्वयंसेवकप्रति कृतज्ञता ज्ञापन गरेका छन् । 

राष्ट्रसंघका १६९ सदस्य देशमा शान्ति, न्याय र समानता स्थापित गर्न राष्ट्रसंघका स्वयंसेवकहरू क्रियाशील छन् ।