माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पतरी खोला पुलको ठेक्का तोडियो
पुल निर्माणका लागि कार्यालयले लोहोनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते पहिलो पटक सम्झौता गरेको थियो । पटक पटक म्याद थप हुँदा पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
काठमाडौं । सरकारले चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पतरी खोलामा वर्षौंदेखि अलपत्र पुल निर्माणको ठेक्का तोडेको छ ।
हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो । कार्यालयलाई स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि सम्पर्कमा नआएकाले ठेक्का तोडिएको आयोजना निर्देशनालय वीरगञ्जले जनाएको छ ।
४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाएको थियो । तर काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएको भन्दै ठेक्का तोडिएको आयोजना निर्देशनालय वीरगञ्जले एक सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
सूचनामा लेखिए अनुसार निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो । पुल निर्माणका लागि कार्यालयले लोहोनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते पहिलो पटक सम्झौता गरेको थियो । पटक पटक म्याद थप हुँदा पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि तीन करोड ८४ लाख २५ हजार ४६१ रुपियाँ सम्झौता अनुसारको रकम विनियोजित भई थन्किएको छ ।
सडककै स्तर वृद्धि भइरहेको भरतपुर–माडी–ठोरी हुलाकी सडकमा अहिले ठुलासाना ११ वटा पुल निर्माण भइरहेका छन् । निर्माण भइरहेका पुलमध्ये आठ वटा पुलको निर्माण प्रायः सकिएको छ भने दुई वटा पुल निर्माणकै क्रममा छन् ।
यसअघि सरकारले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का पनि तोडेको थियो ।