ईसेवाको ब्राण्ड एम्बेस्डरमा रोहित पौडेलको निरन्तरता

औपचारिक साझेदारी विस्तारसँगै ईसेवाले नेपाली खेलकुद तथा फिनटेक क्षेत्रको प्रतिनिधित्व गर्ने विश्वसनीय अनुहारका रूपमा पौडेलको योगदानलाई निरन्तरता दिएको छ ।

काठमाडौं ।  डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई पुनः ब्राण्ड एम्बेस्डर (प्रवर्द्धक)का रूपमा अनुबन्ध गरेको छ । विगत दुई वर्षदेखि ब्राण्ड प्रवर्द्धकका रूपमा आबद्ध पौडेलसँगको सम्झौताको अवधि यस वर्ष फेरि थपिएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर ललितपुर, पुल्चोकस्थित ईसेवाको प्रधान कार्यालयमा भएको हो । कार्यक्रममा ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र कप्तान पौडेल उपस्थित थिए । औपचारिक साझेदारी विस्तारसँगै ईसेवाले नेपाली खेलकुद तथा फिनटेक क्षेत्रको प्रतिनिधित्व गर्ने विश्वसनीय अनुहारका रूपमा पौडेलको योगदानलाई निरन्तरता दिएको छ ।

सम्झौता नवीकरणपछि कप्तान पौडेलले आफ्नो भूमिकालाई निरन्तरता दिन पाउँदा खुशी व्यक्त गर्दै यस सहकार्यले नयाँ ऊर्जा र आयाम थप्ने विश्वास व्यक्त गरे। उनले फ्यानहरू, टीम र साझेदार संस्थाहरूको विश्वासले आफूलाई प्रेरित गरेको बताए ।

ईसेवाका सीईओ खड्काले नेपाली क्रिकेटलाई विश्व मञ्चमा स्थापित गर्न पौडेलले खेलेको भूमिकाको प्रशंसा गर्दै, प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु गर्वको विषय भएको बताए । साथै उनले २०२६ को टी–२० विश्वकपका लागि नेपाल चुनिएकोमा बधाई दिँदै नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शनको शुभकामना समेत व्यक्त गरे ।