जनकपुरधाममा आज सीता र रामको विवाह पञ्चमी मनाइँदै, मधेश प्रदेशभर सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । विवाह हेर्न नेपालसहित भारतको विभिन्न स्थानबाट लाखौं श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

काठमाडौं । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

मधेश प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा मंगलबा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । विवाह हेर्न नेपालसहित भारतको विभिन्न स्थानबाट लाखौं श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

सोमबार विवाह पञ्चमीको पूर्व सन्ध्यामा धार्मिक तथा ऐतिहासिक जनकपुरको गंगासागरमा राम र जानकीको मटकोर गरिएको थियो । विवाहका लागि वेदी बनाउन पूर्व सन्ध्यामा गंगासागरबाट माटो ल्याउने विधिलाई मटकोर भनिन्छ ।

छैटौँ दिन राम र जानकीको विवाह धुमधामसँग हुने छ । दिउँसो जानकी मन्दिरबाट जानकीको डोला र राममन्दिरबाट रामको डोला निस्केर बाह्रबिघा मैदानमा स्वयम्वर हुने छ भने साँझ जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार रातभर विवाहको कार्यक्रम चल्ने छ ।

जानकी विवाह महोत्सवलाई लिएर जनमपुरधामका निजी विद्यालयका तीन संगठनले सोमबारदेखि नै बुधबारसम्म सावजनिक बिदा दिइसकेको छ । बुधबार जन्तीको बिदाइसँगै विवाहमहोत्सव सकिनेछ ।