एनपिएल : कर्णाली र लुम्बिनी तथा काठमान्डु र विराटनगर खेल्दै

कर्णाली पहिलो जितको खोजीमा हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ ।

कर्णाली पहिलो जितको खोजीमा हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । गत संस्करणको खेलमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकालेको थियो ।

यस्तै आजको दोस्रो खेलमा काठमान्डु गोर्खाज र विराटनगर किङ्स खेल्ने छन् । खेल अपरान्ह साढे तीन बजेदेखि सुरु हुनेछ । काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल‌ हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो । गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।