काठमाडौंमा मंसिर ४ गते पहिलो ‘एआई इन बैंकिङ तथा फिन्टेक सम्मेलन २०२५’ हुने
सम्मेलनमा नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे जागरण, क्षमता विकास र व्यवहारिक पक्षमा गहिरो छलफल गर्ने लक्ष्य राखिएको छ ।
काठमाडौं । नेपालमा पहिलो ‘एआई इन बैंकिङ तथा फिन्टेक सम्मेलन २०२५’ मंसिर ४ गते काठमाडौंमा हुने भएको छ ।
फिन्टेक अलायन्स नेपाल र काठमाडौं फिन्टेकको संयुक्त आयोजनामा हुने कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गर्नेछन् । सम्मेलनमा देशविदेशका प्रतिष्ठित वक्ता, बैंक तथा फिन्टेकका उच्च नेतृत्व र नियामक निकायका अधिकारीहरू सहभागी रहनेछन् । कार्यक्रममा डेढ सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा फोनपेको प्रस्तुति रहनेछ भने इसेवा, भिजा, आडिस्वान लगायतका प्रतिष्ठित फिन्टेक तथा प्रविधि कम्पनीहरूले सहयोग गर्नेछन् ।
वक्ताहरूले एआईले बैंकिङ, फिन्टेक, भुक्तानी प्रणाली, साइबर सुरक्षा, ग्राहक अनुभव, जोखिम व्यवस्थापन र वित्तीय समावेशितामा ल्याउन सक्ने रूपान्तरणबारे विचार राख्नेछन् । सम्मेलनमा नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे जागरण, क्षमता विकास र व्यवहारिक पक्षमा गहिरो छलफल गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय विशेषज्ञ दीपक शर्मा, राजगोपाल पी, कृत दोषी र जियोभानी लेमसले आफ्ना धारणा प्रस्तुत गर्नेछन्। त्यस्तै, राष्ट्र बैंकका निर्देशक शुभाषचन्द्र घिमिरे, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवाली, एनएमबी बैंकका सीइओ गोविन्द घिमिरे र ग्लोबल आइएमइ बैंकका डीसीइओ सुमन पोखरेल कार्यक्रमका वक्ता छन् ।
आयोजक काठमाडौं फिन्टेकका संस्थापक तथा फिन्टेक अलायन्स नेपालका संस्थापक पूर्व अध्यक्ष सञ्जिव सुब्बाले यो सम्मेलन एआईको जिम्मेवार, सुरक्षित र प्रभावकारी प्रयोगलाई मुख्य धारमा ल्याउने महत्त्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन् ।