नबिल बैंकले ल्यायो मास्टरकार्ड डेबिट कार्ड, ग्राहकले प्रिमियम सुविधा पाउने
बैंकका अनुसार नयाँ डेबिट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित छ ।
काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड प्रचलनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले नयाँ डेबिट कार्ड ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने प्रतिबद्धतामा कमि नआओस भनि नयाँ सेवा सुरु गरिएको बताए । उनले भने, ‘बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेबिट कार्ड जारी गरिएको हो ।’
मास्टरकार्ड दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरू नयाँ डेबिट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको ज्ञवालीले बताए । मास्टरकार्डमार्फत आफूहरू ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको ज्ञवालीको भनाइ छ।
नयाँ डेबिट कार्डमार्फत ग्राहकले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेबिट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ ।
मास्टरकार्डको नयाँ डेबिट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन्। जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो। कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ।