बैंकर्स संघका अध्यक्ष कोइरालाले पेश गरेका यी कारण, जसले बैंकको वित्तीय विवरण विग्रियो
पहिलो त्रैमासको रिपोर्ट हेर्ने हो भने ११ सय अर्ब बढी लोनेबल फण्ड छ । सस्पेन्स ह्वात्तै बढेको छ । करिब २२ अर्ब प्रोभिजन बैंकहरुले थपेका छन् । बैंकहरुको नाफामा असर परेको छ । सूचकांकको आधारमा हेर्दा समग्र सिनारियो त्यति राम्रो छैन ।
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले राम्रो रिपोर्ट ल्याउन नसक्नुको कारणहरू खोतलेका छन् । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)काे साधारणसभामा बोल्दै कोइरालाले बैंकहरुले राम्रो रिपोर्ट ल्याउन नसक्नुका विभिन्न कारणहरु सुनाए ।
बैंकहरु रिपोर्ट खस्किनुको एक कारण जेनजी आन्दोलन रहेको बताउँदै माछापुच्छ बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका कोइरालाले जेनजी आन्दोलन, बाढी पहिरो, चाडपर्व र फेरि आन्दोलन हुन्छ की भन्ने सन्देहका कारण वित्तीय प्रतिवेदनहरु विग्रिएको बताए ।
चालू आवको पहिलो त्रैमासमा २० वाणिज्य बैंकमध्ये पाँच बैंकले मात्रै नाफा बढाएका थिए । यसअवधिमा १४ बैंकको नाफा घट्दा एउटाको भने ऋणात्मक भएको थियो । त्यस्तै अवस्था विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुको पनि थियो । अधिक तरलतादेखि असुलीमा समस्या हुँदा बैंकहरुको नाफामा गिरावट आएको कतैबाट लुकेको छैन । 'खराब कर्जा बढिरहेको छ र त्यसका लागि छुट्याउनु पर्ने रकम बढिरहेको छ । जसले गर्दा बैंकहरु थप दबाबमा परेको छ', अध्यक्ष कोइरालाले भने, ‘पहिलो त्रैमासको रिपोर्ट हेर्ने हो भने ११ सय अर्ब बढी लोनेबल फण्ड छ । सस्पेन्स ह्वात्तै बढेको छ । करिब २२ अर्ब प्रोभिजन बैंकहरुले थपेका छन् । बैंकहरुको नाफामा असर परेको छ । सूचकांकको आधारमा हेर्दा समग्र सिनारियो त्यति राम्रो छैन ।’ अध्यक्ष कोइरालाले सबै मिलेर अर्थतन्त्रलाई ‘रिफर्म’ खोज्न आवश्यक रहेको बताए ।