प्रधानमन्त्रीसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण, सञ्चार र स्वास्थयमन्त्रीको बाँकी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतम र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको सम्पत्ति विवरण प्राप्त भएको छैन । कार्यालयका अनुसार सबैको सम्पत्ति बिवरण प्राप्त भएपछि सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइने छ ।
काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ८ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतम र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको सम्पत्ति विवरण प्राप्त भएको छैन । कार्यालयका अनुसार सबैको सम्पत्ति बिवरण प्राप्त भएपछि सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइने छ ।
पूर्वप्रधानन्यायाधीश कार्की गत २७ भदौमा प्रधानमन्त्री भएकी थिइन् । प्रधानमन्त्री कार्कीले ३० भदौमा पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री र अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएकी थिइन् । तीन जना मन्त्रीले मन्त्री भएको दुई महिना पछि सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् ।
प्रधानमन्त्री कार्कीले असोज ६ गते अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्री र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइन् । सिन्हा, पुन र परियारले मन्त्री बनेको ५४ दिनमा सम्पत्ति बिवरण बुझाएका छन् भने सञ्चारमन्त्री खरेलले अझै बुझाएका छैनन् ।
त्यसैगरि कात्तिक ९ गते प्रधानमन्त्री कार्कीले पूर्वस्वास्थ्य सचिव सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाइन् । गुप्ताले सम्पत्ति बिवरण बुझाएपनि गौतमले बुझाएकी छैनन् ।