एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि १५ हजारम्म

मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका लागि दर्शकले अधिकतम १५ हजार रुपैयाँ तिरेर पुरै खेल अवधि मैदानमा रमाउन सक्नेछन् ।

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री औपचारिक रूपमा सुरु गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका लागि दर्शकले अधिकतम १५ हजार रुपैयाँ तिरेर पुरै खेल अवधि मैदानमा रमाउन सक्नेछन् ।

क्यानका अनुसार दर्शकका लागि विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन् । सुरुवाताको दिन (ओपनिङ डे) र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य ५ सय रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार ५ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट ५ सय रुपैयाँ र प्रिमियम टिकट १ हजार रुपैयाँ पर्ने छ ।

यसबाहेक, सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पास को व्यवस्था गरिएको छ, जसको मूल्य १५ हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ । उक्त पासमार्फत प्रतियोगिताका सबै खेल हेर्न सकिनेछ ।

टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’ लाई अधिकृत साझेदार बनाइएको छ । क्रिकेटप्रेमीले सो एपमार्फत आफ्ना टिकट अनलाइन खरिद गर्न सक्नेछन् ।