कार चढेर चोरी ! मोरङ पथरी शनिश्वरेका खड्का ३९ औं पटक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका-१ बाट ८ जनालाई पक्राउ गरेको हो । चोरी गिरोहका नाइके मोरङ पथरी शनिश्वरेका खड्का यसअघि ३८ पटकसम्म पक्राउ परिसकेका छन् ।

काठमाडौं । भक्तपुरको विभिन्न स्थानहरूमा संगठित समूह बनाई पाकेटमार, लुटपाट, चोरी गर्ने गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका-१ बाट ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सूर्यविनायक न.पा वडा नं ८ बस्ने २६ वर्षीय साधुराम भुजेल, २६ वर्षीय सुदीप भण्डारी, १८ वर्षीय राजिब भण्डारी, २९ वर्षीय सुजन भण्डारी, मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. ९ घर भई हाल सुर्यविनायक–८ बस्ने ४३ वर्षीय कृष्णबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं। ३ की २३ वर्षीया अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ८ का २२ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक महाभारत गाउँपालिका– ६ का २७ वर्षीय सुरज तामाङ छन् ।

उनीहरूको साथबाट प्रहरीले सुनको ब्रासलेट १ थान, औठी २ थान, झुम्का, १ जोर, सिक्री १ थान, अमेरिकन डलर २८ सय, ६ हजार ६९० भारु, ४ लाख २८ हजार ८८० नेपाली रुपैयाँ, मोवाइल १४ थान, क्यामेरा १ थान, सर्जिकल ब्लेड १ थान, मोटरसाइकल ४ थान,बा. ४ च ३९१६ नम्बरको कार बरामद गरेको छ ।

चोरी गिरोहका नाइके मोरङ पथरी शनिश्वरेका खड्का भने यसअघि ३८ पटकसम्म पक्राउ परेका व्यक्ति भएको प्रहरीको भनाई छ । चोरी, पाकेटमार र लुटपाट गर्न उनीहरू समूह बनाई एकै ठाउँमा बस्ने गरेको अनुसन्धानबाट खुलेको छ । लुट्नको लागि उनीहरूले मोटरसाइकल तथा कार प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार सार्वजनिक सवारी साधनहरूमा सबैजना सँगै चढ्ने र ‘टार्गेट’ छनौट गर्ने गरेको, पैसा बोकेका, सुनका गरगहनाहरू लगाएका व्यक्तिहरूको निगरानी गरी पहिचान गर्ने गरेकाे अनुसन्धानबाट खुल्न आएकाे छ ।

पैदलयात्री, दुई पाङग्रे सवारी साधनहरूमा यात्रा गर्नेको साथबाट सिक्री हरू लुटपाट गर्ने, गाडीबाट ओर्लिँदा सबै व्यक्ति एकै पटक नओर्लिई पालैपालो विभिन्न स्थानमा ओर्लिने, पाकेट मारेको साथै चोरी गरेका धनमाल समूहमै बाँड्ने गरेको खुलेको छ ।