६ कम्पनीका लगानीकर्ता मालामाल, नेप्से स्थिरप्रायः रहँदा कारोबार रकम घट्यो
बिहीबार कारोबार भएका माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार एण्ड टुरिजम र रुरु जलविद्युत आयोजनाको सेयर सकारात्मक सर्किट लेभल (करीव १० प्रतिशतले बढेर) मा कारोबार भएको हो ।
काठमाडौं । साताको अन्तिम बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सिथरजस्तै देखिएको छ । तर, बजारमा ६ कम्पनीका लगानस्कर्ता भने मालामाल भएका छन् । बिहीबार कारोबार भएका माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार एण्ड टुरिजम र रुरु जलविद्युत आयोजनाको सेयर सकारात्मक सर्किट लेभल (करीव १० प्रतिशतले बढेर) मा कारोबार भएको हो ।
बुधबार २० अंक बढीले घटेको नेप्से बुधबार भने झिनो (१.१३) अंक बढेर (स्थिरप्रायः) रहँदै २५४५.७३ अंकमा अडिएको छ । तर, कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ । बुधबार ३ अर्ब ८४ करोडरुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार भने ३ अर्ब ४९ करोड ९८ लाख रुपैयामा सीमित भएको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स ०.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।
बिहीबार १२३ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै (४.८२ प्रतिशत) घटेको छ । कारोबार रकमका आधारमा बिहीबार हिमालयन पावर पार्टनर शीर्ष स्थानमा छ । हिमालयनको बिहीबार १६ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको करिब १४ करोड रुपैयाँबराबरको सेयर किनबेच हुँदा यूनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ । नेप्सेमा वर्गिकृत १३ समूह सूचकमध्ये बिहीबार ७ समूह सूचक बढेको छ भने ६ समूह सूचक घटेको छ ।