विश्व बैंकले भन्यो आर्थिक बृद्धि २.१ प्रतिशत, अर्थमन्त्रीले भने, 'विकास साझेदारले प्रक्षेपण गरे अनुसार घट्दैन'
आयकरको सुस्तता पनि ब्याजदर र पुँजीगत करमा आएको कमीले भएको देखिन्छ । विकास खर्च हुने समय भर्खरै सुरु भएको छ । धेरै आयोजना यही वर्ष सकिने चरणमा पुगेका छन् । यस्तो अवस्थामा आर्थिक वृद्धिदर असाध्यै न्यून हुने सम्भावना कम छ ।
ललितपुर । विश्व बैंकले नेपालमा चालु आर्थिक वर्ष (आव) २०८२/८३ मा आर्थिक बृद्धि २.१ प्रतिशत सीमित हुने दावी गरेको छ । यसअघि विश्व बैंकले चालु वर्ष मा ५.२ प्रतिशत आर्थिक बृद्धि हुने दावी गरेको थियो । त्यसो त सरकारले चालू वर्ष प्रतिशत आर्थिक बृद्धि हुने लक्ष राखेको थियो । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका कारण सिर्जित अवस्थाले अर्थतन्त्रमा हुने संकुचनले आर्थिक वृद्धि अपेक्षाकृत नहुने विश्व बैंकको भनाइ छ।
त्यसैगरि विश्व बैंकले आव २०८३/८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि आव २०८३/८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।
आज सार्वजनिक भएको 'नेपाल डेभलपमेन्ट अपडेट: रिफम्र्स टु एक्सिलेरेट पब्लिक इन्भेस्टमेन्ट' प्रतिवेदनका अनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने अपेक्षा छ । यद्यपि यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको छ । राजनैतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित आर्थिक सुधारलाइ गति दिन सक्नेछ। नकारात्मक पक्षको रुपमा भने निरन्तरको अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गर्न सक्ने पनि अनुमान गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले विकास साझेदारहरूले प्रक्षेपण गरेअनुसार आर्थिक वृद्धिदर नघट्ने बताएका छन् । अक्टोबरमा पर्यटन आगमन सर्वाधिक बढेको र एकाध बाहेक होटल तथा पर्यटन क्षेत्रले पूर्ववत् अवस्थामा सेवा दिइरहेकाले विकास साझेदारहरूले प्रक्षेपण गरेअनुसार आर्थिक वृद्धिदर नघट्ने अर्थमन्त्री खनालले बताए । ‘आन्दोलनका कारण क्षति भए पनि पुनर्निर्माण सुरु भइसकेको छ। क्षति भएकामध्ये पनि अधिकांशले सेवा सुरु गरिसकेका छन्,’ खनालले भने, ‘आयकरको सुस्तता पनि ब्याजदर र पुँजीगत करमा आएको कमीले भएको देखिन्छ । विकास खर्च हुने समय भर्खरै सुरु भएको छ । धेरै आयोजना यही वर्ष सकिने चरणमा पुगेका छन् । यस्तो अवस्थामा आर्थिक वृद्धिदर असाध्यै न्यून हुने सम्भावना कम छ ।’