नेवानि महाप्रबन्धकका लागि खुल्यो दरखास्त, १५ दिनभित्र आवेदन दिन सकिने

आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।

काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति छनोट समितिले आज दरखास्त आह्वान गरेको छ ।

आज छनोट समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । सूचनामा लेखिएको छ, ‘नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।

निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको ७ कात्तिकमा कार्यकाल सकिएपछि हाल नेवानि नेतृत्व विहीन छ निमित्त महाप्रबन्धकको रुपमा जनकराज कालाखेती कार्यरत छन् । नेवानिको महाप्रबन्धक पदमा पदपूर्ति गर्ने प्रक्रियामा ढिलाइ गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक २५ गते पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद  मैनालीसँग स्पष्टीकरण सोधेकी थिइन् । नेवानि महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीलेले सचिव मैनालीको संयोजकत्वमा १४ कात्तिकका दिन छनोट समिति गठन गरेकी थिइन् ।