डेडिकेटेड र ट्रंकलाइन विवाद: १६ उद्योगले बुझाए विद्युत बक्यौताको पहिलो किस्ता, अझै कुन कुन बाँकी ?

प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो । अझै ९ उद्योगमा लाइन काटिएकै स्थिति छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १ उद्योगले बक्यौता रकम बुझाएका छन् ।

बुधबार  ५० करोड ८५ लाख रुपैयाँ बक्यौता रहेको घोराही सिमेन्टले पहिलो किस्ताबापत १ करोड ८१ लाख ६१ हजार ९७६ रुपैयाँ बुझाएको छ । यस्तै ९ करोड ७७ लाख रुपैयाँ बक्यौता रहेको कसमस सिमेन्टले पहिलो किस्ताबापत ३५ लाख रुपैयाँ तिरेतिरेसँगै विद्युत बक्यौताको पहिलो किस्ता तिर्ने उद्योगको संख्या १६ पुगेको हो ।

प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो । अझै ९ उद्योगमा लाइन काटिएकै स्थिति छ । यसअघि नै ६ उद्योगमा भने अदालतले नै अन्तरिम आदेश दिएर विद्युत लाइन नकाट्न भनेको थियो । पछिल्लो पटक लाइन काटेको विषयलाई लिएर अर्घाखाँची सिमेन्ट उद्योग आदालत समेत गएको थियो । त्यसमा आदालतले अन्तरिम आदेश दिन आलटाल गर्दै सुबैपक्षलाई छलफलको लागि बोलाएको छ । 

प्राधिकरणले उद्योगमा विद्युत आपूर्ति बन्द गरेसँगै २५ मध्ये घराना फुड्स र गोयन्का फुड्स गरी दुई उद्योगले तत्कालै बक्यौता महसुलको किस्ता तिरेका थिए । प्राधिकरणका अनुसार पहिलो किस्ता बुझाएका सबै उद्योगमा तत्काल लाइन जडान गरिदिएको छ । 

यद्यपि, उद्योगीहरूले यसलाई किस्ताका रूपमा नभएर धरौटीका रूपमा भुक्तानी गरेको बताएका छन् । गत साता प्रधानमन्त्री कार्यालयमा उद्योगीले धरौटीका रूपमा पहिलो किस्ता तिरेपछि लाइन जोड्ने र न्यायिक प्रक्रिया अघि बढाउने सहमति भएको थियो । त्यसपछि केही उद्योगीले धरौटी भन्दै पहिलो किस्ता तिरेका छन् । तर, प्राधिकरणले भने किस्ताकै रूपमा बक्यौता बुझेको बताउँदै आएको छ । यसमा द्विविधा भएपछि कात्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई पत्राचार गर्दै विद्युत महसुल विवाद समाधान गर्न निर्देशन दिएको थियो ।


पहिलो किस्ता तिरेर लाइन जोडिएका उद्योगहरू 

त्रिवेणी सिन्थेटिक : किस्ता १५ लाख ७१ हजार

रिलायन्स स्पिनिङ मिल्स : २ करोड ७७ लाख 

हुलास स्टिल : ५० लाख ४३ हजार 

अशोक स्टिल : ६३ लाख पहिलो किस्ता 

हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज : २० लाख ९० हजार 

पञ्चकन्या प्लास्टिक : २४ लाख ६३ हजार बक्यौता

पञ्चकन्या स्टील : ५२ लाख १९ हजार बक्यौता

सिद्धार्थ पेटप्लान्ट : १ करोड ८३ लाख बक्यौता

श्याम प्लास्टिक : ४९ लाख १० हजार बक्यौता

सोनापुर मिनरल एन्ड आयल : ८६ लाख ३० हजार बक्यौता 

हिमाल आइरन एन्ड स्टिल : १३ करोड ६५ लाख

शिवम् सिमेन्ट : २ करोड ३८ लाख रुपैयाँ

घराना फुड्स : ६७ लाख 

गोयन्का फुड्स : ५२ लाख ७३ हजार

घोराही सिमेन्ट: १ करोड ८१ लाख

कसमस सिमेन्ट: ३५ लाख



विद्युत काटिएका उद्योग र तिर्नुपर्ने बक्यौता रकम 

जगदम्बा स्टिल : १ अर्ब ६० करोड १८ लाख

अर्घाखाँची सिमेन्ट : ४४ करोड ८४ लाख

त्रिवेणी स्पिनिङ मिल्स : ३२ करोड १० लाख

जगदम्बा सिन्थेटिक : २० करोड ५० लाख

निगाले सिमेन्ट : ५ करोड ८१ लाख

विशाल सिमेन्ट इन्डस्ट्रिज : ३ करोड ३५ लाख

बुटवल सिमेन्ट :   १८ करोड ४५ लाख

एभरेस्ट पेपर मिल : ९ करोड ४४ लाख

निगाले सिमेन्ट : ५ करोड ८९ लाख


अदालतको अन्तरिम आदेशले रकम तिर्नबाट जोगिएका ६ उद्योग र बक्यौता रकम

मारुती सिमेन्ट :   ५७ करोड ४५ लाख

अरिहन्त मल्टिफाइबर :   ११ करोड ५३ लाख

युनाइटेड सिमेन्ट : ११ करोड ३७ लाख

रघुपति जुट मिल : ८ करोड ५९ लाख

अरिहन्त पोलिप्याक : ६ करोड ६२ लाख

बाबा जुट मिल :   २ करोड ४१ लाख ।