भदौ २४ को आगजनी र लुटपाटको असर: ह्यात रिजेन्सीद्धारा मर्मत अवधिभर सबै श्रमिक कटौती

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आपराधिक समूहले होटलमा तोडफोड, लुटपाट र आगजनी गरेको कारण होटल पूर्ण रूपमा बन्द रहेको छ ।

काठमाडौँ । हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ ।

होटलले जारी सूचनामा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आपराधिक समूहले होटलमा तोडफोड, लुटपाट र आगजनी गरेको कारण होटल पूर्ण रूपमा बन्द रहेको उल्लेख छ । घटनामा एक विदेशी पाहुनाको ज्यान गएको र अन्य पाहुनाहरूका सरसामान लुटपाट तथा जलाइएपछि होटलको अन्तर्राष्ट्रिय प्रतिष्ठामा नकारात्मक असर परेको सूचनामा भनिएको छ ।

होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिएका छन् । उनले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गरिएको बताए ।

कोभिड-१९ का कारण पहिल्यै ठूलो आर्थिक क्षति व्यहोरेको होटलले पुनः यस घटनाका कारण करोडौँको क्षति व्यहोर्नुपरेको जनाएको छ । मर्मत सम्भारका लागि ठूलो रकम आवश्यक परेको र सञ्चालनमा नरहेको अवस्थामा होटलको आम्दानी शून्य भएकाले श्रमिक व्यवस्थापनमा समस्या देखिएको होटलले जनाएको छ ।