मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

सोमबारको मन्त्रिपरिषद् बैठकले सुमित्रा सुवेदी भण्डारीलाई मधेश प्रदेश प्रमुखबाट पदमुक्त गरेर कर्णलाई नियुक्ती सिफारिस गरेको थियो । भण्डारीले सर्लाहीको बर्दिवासमा नेकपा एमालेका सरोज कुमार यादवलाई एकाबिहानै मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराएकी थिइन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतका उपस्थिति थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले सुमित्रा सुवेदी भण्डारीलाई मधेश प्रदेश प्रमुखबाट पदमुक्त गरेर कर्णलाई नियुक्ती सिफारिस गरेको थियो ।

भण्डारीले सर्लाहीको बर्दिवासमा नेकपा एमालेका सरोज कुमार यादवलाई एकाबिहानै मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराएकी थिइन् । भण्डारीले संविधान विपरित यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेशसभाका सांसदहरु सर्वोच्च अदालत गएका छन् भने मधेश प्रदेशमा सोमबार तोडफोड गरेर विरोध जनाएका छन् ।